नाटकमा जुत्ताको संघर्ष र हरिताराको पीडा

natak

दोलखा (चरिकोट), २९ जेठ ।  चरिकोट स्थित सिम्पानेको सामुदायिक हलमा दर्शकको घुईंचो थियो । मञ्चमा मैथिली नाटक मञ्चन भईरहेको थियो । उनीहरुको भाषा बुझ्ना केही दर्शकलाई गाह्रो परेको थियो । तर उनीहरुको अभिनय र भाव भँगीले दर्शक पेट मिचिमिची हाँसिरहेको थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बुधबारबाट त्यहाँ ‘राष्ट्रिय नाटक महोत्सब—२०७३’ गरेको छ । सो महोत्सबको तेस्रो दिन शुक्रबार पहिलो सत्रमा मञ्चित मैथिली भाषाको नाटक ‘उधार जुत्ता’ मञ्चनको प्रसँग हो यो । एउटा परिवारमा पाँच सदस्यको मात्र एक जोर जुत्ता थियो । सो जुत्तालाई उनीहरुले आफ्नो द्रोपदीको रुपमा सम्बोधन गर्थे । सो एक जोर जुत्ता कसले लगाउने भन्ने झगडा र आपसमा तानातान गर्दा जुत्ता पूर्ण रुपमा च्याचिएपछि उनीहरुले पीडा र जुत्ता लगाउन गर्नु परेको समस्यामा यो नाटक केन्द्रित थियो ।
कथाकार राजेन्द्र बिमलको मैथिली कथा उधार जुत्तालाई जनकपुरको नाट्य समुह मिनापले नाट्य रुपान्तरण गरेर मञ्चनमा उतारेको थियो शुक्रबार । हास्य प्रधान यो नाटकलाई दर्शकले निकै मन पराए । परमेश र अनिलले निर्देशन गरेको यो नाटकमा मदन ठाकुर, बिष्णुकान्त मिश्र, अनितारानी मण्डल, मुकेश झा, धिरज ठाकुर, रामनारायण ठाकुर, गंगाकान्त झा लगायतको अभिनय थियो ।
शुक्रबारको दोस्रो सत्रमा निर्देशक बीरेन्द्र हमालले आफ्नो नाटक आहार्याबाट दर्शकको मन जिते । एम आर्ट थिएटरको प्रस्तुति एक घन्टाको यो नाटकले हलमा दर्शकलाई स्तव्ध पारेका थिए ।
नाटक आहार्यमा भक्तपुरको दरबारबाट विवाह गरेर तिव्वत पढाईएकी आहार्या (हरितारा)को कथा प्रस्तुत गरिएको थियो । जो नेपाल छँदा आहार्या नामले परिचित थिईन् । तिब्बतमा जनताबाट हरितारा उपाधि पाएकी यी रानीले पतिको यातनाबाट दरबार भित्रै गुपचुप ज्यान गुमाउनु परेको पीडादायी दृष्य प्रस्तुत गरिएको थियो । तीनै आहार्याको आत्माले एक नेपाली झाँक्रीलाई बारम्बार दुःख दिएपछि ती झाँकीले उनको आत्मा प्रतिस्थापन गरे । त्यसपछि ती आहार्याले आफ्नो प्रेम कथा सुनाईन् । आफ्नो प्रेमीलाई धोका दिएर बुबाको दवावमा बिदेशीसँग विवाह गरेर बिदेश गई त्यहाँ भोग्नु परेको पीडा र पतिबाट हत्या भएको दुःखद घटना उनले सुनाईन् । नाटकको अन्त्यमा ती झाँक्रीले आहार्याको आत्मालाई मुक्ति दिलाए ।
यो नाटक प्रकाश परिचालन, पाश्र्व संंगीत परिचालन र कलाकारको अभिनयले उत्कृष्ट बनेको प्रतिक्रिया दर्शकले दिए । नाटकमा चन्द्रा पाण्डे, संगीत सुब्बा लगायतले जीवन्त अभिनय गरेका थिए । निर्देशक बीरेन्द्र हमाल आफैंले लेखेको यो नाटकमा लिच्बकी कालिन समयको परिवेश प्रस्तुत गरिएको थियो ।
महोत्सबमा दर्शकको उत्साह सोचे भन्दा राम्रो भएको महोत्सब संयोजक तथा आयोजक सँस्था नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य पुष्कर गुरुङले बताए । तीन सय दर्शक अटने क्षमताको हलमा दर्शकको अत्याधिक घुईचो बढेपछि पास बाँढ्नु परेको होत्सबका सह संयोजक एवं प्राज्ञ रमेश रञ्जन झाले जानकारी गराए । यो नाटक ३० गतेसम्म चल्ने छ । जसमा ९ ओटा नाटक यस पटक चयन भएर मञ्चन हुँदैछन् ।

Give Your Opinion On "नाटकमा जुत्ताको संघर्ष र हरिताराको पीडा"