टेरियाको गुनासो : मिडियाले मेरो नामै बिगारे

टेरिया फौजा मगर नेपाल आएको थाहा पाएपछि उनीसँग कुराकानी गर्ने चाँजोपाँजो मिलाउन थाले । शनिबार साँझ भेट्ने समय पनि मिल्यो । तर, उनी यति व्यस्त थिइन्, एउटा अर्को टेलिभिजनको कार्यालयमा पुगेर अन्तर्वार्ता लिनुपर्ने भयो । त्यहाँ पनि मिडियाको लाइन  । ५ः३० को समय तय भएकोमा बल्लबल्ल ६ः३० बजेदेखि कुराकानी शुरु भयो । 

मैले पहिलो प्रश्न तेर्साए, ‘मलाई त तपाइँको नाममा नै ‘कन्फ्युजन’ छ, तपाइँको नाम तेरिया हो कि टेरिया ?’ अनि उनले गुनासो पोखिन्, ‘लगभग सबैजसो मिडियाले मेरो नाम नै बिगारिदिएका छन् । मेरो नाम टपरी ‘ट’ को टेरिया हो ‘तराजु’ ‘त’ होइन ।’

निकै चुलबुले स्वभावकी तेरियासँग कुरा गर्दा उनको आँखामा छुट्टै चमक देखिन सकिन्थ्यो ।

उनले रातोपाटीका लागि सरिता कार्कीसँग करिब आधा घण्टा कुराकानी गरिन् । कहिले–कहिले भारतीय लवज पनि मिसिने उनको बोलीमा विभिन्न ‘एक्सप्रेसन’ सहित भारतमा उपाधि जित्दाको क्षणको बयान गरिन् । प्रस्तुत छ, नेपाली चेली टेरिया मगरसँग गरिएको कुराकानीको सम्पादित अंशः

नृत्य क्षेत्रमा लाग्नुभएको कति भयो ? यसप्रति कसरी आकर्षित हुनुभयो ?

नर्सरीमा पढ्दादेखि नै डान्स गर्न सुरु गरेकी हुँ । नर्सरीमै पढ्दा विद्यालयमा ‘डान्स कम्पिटिसन’ भएको थियो । त्यसमा प्रथम भएकी थिएँ । त्यतिबेला मैले तीनवटा नोटबुक र तीनवटा पेन्सिल जितेकी थिएँ, यो मेरा लागि निकै प्रिय भयो । त्यो जित म कहिले पनि बिर्सन सक्दिनँ ।

कसलाई हेरेर वा के देखेर नृत्य गर्न मन लाग्थ्यो ?

निकै सानै बेलामा त मलाई थाहा छैन । म यत्तिकै रमाइलोका लागि नाच्ने गर्दथेँ । तर जब मलाई नृत्यबारे बिस्तारै थाहा हुँदै गयो, म टिभी डीआईडी हेर्थें । त्यही कार्यक्रम हेरेर नै मलाई नाच्न मन लाग्थ्यो । त्यो कार्यक्रमबाट नै म प्रभावित भएकी हुँ ।

नृत्य सिक्न थालेको कति भयो ?

६, ७ वर्षकी हुँदा मैले बुटवलमा नृत्य सिक्न थालेकी हुँ ।

डीआईडी लिटल मास्टर्समा जाने साइत कसरी जुर्यो ? यो यात्रा कसरी सुरु भयो ?

म पहिलादेखि नै डीआईडी हेर्ने गर्दथेँ । साँच्चै भन्नुपर्दा म यो कार्यक्रमको निकै ठूलो ‘फ्यान’ थिएँ । यसबाटै म ‘इन्स्पायर्ड’ थिएँ । जहिले यो कार्यक्रम टेलिभिजनमा आउँथ्यो, म उक्त स्टेजमा आफूले नै नृत्य गरिरहेको सपना बुन्ने गर्दथेँ । यसमा सहभागी हुने मेरो ठूलै रहर थियो । जब ‘सिजन टु’ सिद्धियो, त्यतिबेला मैले डीआईडी लिटल मास्टर्स सिजन थ्रीका लागि अडिसन हुँदैछ भन्ने जानकारीसहितको विज्ञापन टेलिभिजनमा देखेँ । मलाई यसमा जसरी पनि भाग लिनुथियो । त्यसकारण कुदेर आफ्नो बाजे, ममी भएको ठाउँमा गएँ र आफ्नो कुरा भनेँ । मेरो यसप्रतिको ‘प्यासन’ बुझेर मेरो परिवारले मलाई यसका लागि बाटो खुलाइदिनुभयो । म भारत गएँ । यसरी मेरो डान्सको यात्रा सुरु भयो ।

त्यसो भए परिवारको पूरै सहयोग पाउनुभयो ?

मलाई डान्स गर्न रुचि छ । परिवारमा भारत जाने कुरा छलफल भइरहेका बेला छिमेकीहरुले भने ‘किन यस्तो गर्नुपर्यो ?’, ‘पैसा धेरै खर्च हुन्छ’, ‘बेकारमा भएन भने पैसा, समय, पढाइ सबै खेर जान्छ’ भन्ने कुरा गर्नुहुन्थ्यो । छिमेकीका लगातारका प्रेरणाहीन भनाइका बाबजुत मेरो परिवारले मलाई सहयोग र समर्थन गर्न छोड्नुभएन । उहाँहरुले नै गर्दा आज म यहाँ छु । अहिलेसम्म उहाँहरुको साथ छ, माया छ ।

सपनामा देख्नुभएको डीआईडी लिटल मास्टर्सको स्टेजमा पहिलो पटक आफ्नो प्रस्तुति दिँदा कस्तो महसुस भयो ?

जुन हामीले टिभीमा अडिसन हेर्छौं त्योभन्दा पहिले दुई तीनवटा अडिसन पहिले नै दिनुपर्छ । त्यसमा पास भएपछि बल्ल टेलिभिजनमा देखिने हो । मलाई यी कुराहरु थाहा थिएन । मैले सुरुको तीनवटा अडिसन पास गरेकी थिएँ र टिभीमा देखाइने अडिसनमा जब जान लागेकी थिएँ त्यतिबेला निकै आत्तिएकी थिएँ, डराएकी थिएँ । किनभने निर्णायक मण्डलमा धेरैजना हुनुहुन्थ्यो र प्रतिस्पर्धी पनि मभन्दा धेरै अनुभवी, स्टन्ट गर्ने हुनुहुन्थ्यो । तर जब म आफ्नो प्रस्तुति दिन्छु तब मेरो ‘नर्भसनेस’ हराउँछ र एकाएक आत्मविश्वास उर्लिएर आउँछ ।

दुईवटा एपिसोडपछि नै कार्यक्रमबाट बाहिरिन्छु भनेर सोचेकै थिइनँ । त्यतिबेला म धेरै रोएकी थिएँ । बाहिरिँदा पनि मलाई सपना नै लागिरहेको थियो । यो हुनै सक्दैन जस्तो लागिरहेको थियो । घरमा गएर पनि धेरै रोएँ, अर्को दिन पनि रुँदै काटेँ ।

लाखौँ प्रतिस्पर्धीलाई उछिनेर ‘डीआईडी लिटल मास्टर्स’को उपाधि जित्दाको क्षण कस्तो थियो ? सबैभन्दा पहिले दिमागमा के आयो ?

जब म ‘मेघा अडिसन’मा छानिएँ, अडिसनपछि हुने ‘ग्रान्ड प्रिमियर’मा आफ्नो प्रस्तुति दिन पाएँ भनेर नै म दङ्ग थिएँ । किनभने मैले त्यो टिभीमा मात्र हेर्ने गरेको थिएँ र अन्त्यमा म त्यो ठाउँमा पुग्दै छु भनेर म त्यत्तिकै नै दङ्ग थिएँ । जितको क्षण त म बयान गर्नै सक्दिनँ । निकै ठूलो ‘प्ल्याटफर्म’ थियो, मैले पहिलेदेखि नै पछ्याउने गरेको । त्यसको उपाधि जित्न पाउँदा म अत्यन्त खुसी भएँ । जीवनमा पहिलो पटक यति ठूलो उपाधि जितेकी थिएँ । म आफू पनि चकित थिएँ । म टाउकोदेखि खुट्टासम्मै हर्षित थिएँ । त्यसकारण डीआईडी जित्दा दिमागमा के आयो भन्ने कुरा थाहा छैन मलाई । तर झलक दिखलाजा जित्दा सबैभन्दा पहिले भगवानलाई सम्झिएँ । भगवानलाई धन्यवाद दिएँ र मलाई समर्थन गर्ने नेपाली दाजुभाइ दिदीबहिनीलाई मनमनै नमन गरेँ ।

दुवै कार्यक्रमका निर्णायक मण्डलको व्यवहार कस्तो पाउनुभयो ? नेपाली भनेर भिन्न व्यवहार गर्ने, त्यस्तो केही थियो ?

निर्णायक मण्डलमा जो बस्नुभएको थियो, उहाँहरु मलाई निकै राम्रो लाग्यो । निकै प्रेरणादायी, सहयोगी हुनुहुन्छ । डीआईडी र झलक दुवै कार्यक्रममा मैले भाग लिएँ । सबै जजहरु एकदम राम्रो र सफा विचारको हुनुहुन्छ । मलाई उहाँहरुले कुनै पनि प्वाइन्टमा नेपाली भएकै कारण भिन्न व्यवहार गर्ने गर्नुभएन । अझै मलाई सानो भनेर धेरै माया गर्नुहुन्थ्यो ।

झलकका दुई एपिसोडपछि बाहिरिँदा के सोच्नुभयो ?

दुईवटा एपिसोडपछि नै कार्यक्रमबाट बाहिरिन्छु भनेर सोचेकै थिइनँ । त्यतिबेला म धेरै रोएकी थिएँ । बाहिरिँदा पनि मलाई सपना नै लागिरहेको थियो । यो हुनै सक्दैन जस्तो लागिरहेको थियो । घरमा गएर पनि धेरै रोएँ, अर्को दिन पनि रुँदै काटेँ । साथीहरुले फोन गरेर सुटिङ यो दिन हुँदैछ भन्थे, त्यतिबेला पनि म त्यहाँ भएको भए आज मेरो पनि सुटिङ हुन्थ्यो भनेर रुन्थेँ । मलाई धेरै दिन गाह्रो भयो । तर जब वाइल्ड कार्डका लागि फोन आयो तब म अचम्मित भएँ, ‘वाइल्ड कार्डस् ?’ । मैले झलकमा पुनः प्रवेश गर्छु भन्ने सपना देखेकै थिइनँ । अब अन्तिम मौका यही हो भनेर मलगायत मेरो समूहले दिनरात नभनी मिहिनेत गर्यौं । एकपटक बाहिरिइसकेका थियौं, त्यो फेरि हुन दिनु थिएन हामीलाई । वाइल्ड कार्डमा छनोट भएपछि म निकै रोएकी थिएँ ।

नृत्यजस्तै अभिनयका लागि पनि धेरै तालिम, अभ्यासको आवश्यक पर्छ भन्ने मलाई थाहा छ । त्यसकारण मैले अभिनय पनि सिक्नैपर्छ । पहिला राम्रोसँग सिकेर अनि बलिउडमा अवसर पाए अभिनयमा पनि प्रवेश गर्न चाहन्छु ।

तपाईंका सामान्य दिन कसरी बित्छ ?

बिहान पौने ६ बजे उठिसक्छु । साढे ६ बजे स्कुलको भ्यान आउँछ । मुम्बईकै सेन्ट लरेन्समा पढ्छु । साढे १२ मा स्कुल छुट्टी हुन्छ र आउँदा १ बज्छ । त्यसपछि खाना खान्छु । त्यसपछि ट्युसन जान्छु । होमवर्कहरु गर्छु । त्यसपछि घरमा नै ‘डान्स प्राक्टिस’ गर्छु । टेरेन्स सरको क्लासमा भर्ना पनि भएको थिएँ । तर कार्यक्रमहरु गर्नुपर्ने भएकाले भ्याइनँ र दुई महिनामा नै छोडिदिएँ । पढाइ पनि गर्नुपर्ने भएकाले दिनको दुई, तीन घण्टा घरमा आफै प्राक्टिस गर्छु ।

अबको योजना ?

डान्स मेरो ‘प्यासन’ हो । डान्समा पनि मैले केही न केही गरेर देखाउने छु । साथै मलाई अभिनय पनि मनपर्छ । यदि मैले अभिनयको अफर पाए, त्यो पनि पक्कै गर्नेछु । बलिउड नायिका सोनाक्षी सिन्हाले जे हाउभाउ व्यक्त गर्नुहुन्छ, त्यो मलाई एकदम मनपर्छ । उहाँबाट पनि मैले धेरै कुरा सिकिरहेकी हुन्छु ।

बलिउडमा प्रवेश गर्नका लागि केही तयारी ?

नृत्यजस्तै अभिनयका लागि पनि धेरै तालिम, अभ्यासको आवश्यक पर्छ भन्ने मलाई थाहा छ । त्यसकारण मैले अभिनय पनि सिक्नैपर्छ । पहिला राम्रोसँग सिकेर अनि बलिउडमा अवसर पाए अभिनयमा पनि प्रवेश गर्न चाहन्छु । मलाई नृत्य र अभिनयमा थोरै भिन्नता छ जस्तो लाग्छ । डान्स गर्दा जुन ‘फिल’ गर्छौं, जुन ‘इमोसन’ ल्याउँछौं त्यो अभिनयमा पनि आवश्यक पर्छ जस्तो मलाई लाग्छ ।

नृत्य र अभिनयबाहेक अरु के–केमा रुचि छ ?

म स्कुलमा फुटबल खेल्छु । फुटबल मलाई एकदम मनपर्छ । मलाई गीत गाउन पनि मनपर्छ ।

नेपालमा जन्मिनुभयो, निकै राम्रो नाच्नुहुन्छ, भारतमा गएर आफ्नो करियर बनाउनुपर्दाको सकारात्मक र नकारात्मक पक्ष के–के छन् ?

नेपालमा अवसर छैन म भन्दिनँ । धेरै छन् । धेरैले गरिरहनु पनि भएको छ । प्रियङ्का कार्कीले नृत्य र अभिनय दुवै गरिरहनुभएको छ । मेरो उद्देश्य अलि ठूला थियो । नेपालको भन्दा ठूलो मार्केटमा जाने मेरो सोच पहिलेदेखि नै थियो । जुन मेरा लागि भारतमा थियो । म पटक पटक भन्न चाहन्छु कि, नेपालमा बसेर यदि मैले काम गरेको भए, मलाई मानिसहरुले टेरिया भनेर चिन्नुहुन्थ्यो तर नेपालभन्दा बाहिर बसेर काम गर्दाको मजा के हो भने, आफ्नो नामभन्दा पहिले देशको नाम बोलाउनुहुन्छ ‘नेपालकी टेरिया’ ‘नेपालबाट आएकी टेरिया’ । मेरो नामभन्दा पहिले देशको नाम बोलाउँदा मलाई निकै खुसी लाग्छ । भारतमा बसेर काम गर्नुको मेरो एउटै उद्देश्य छ, देशको नाम उच्च राख्नु । जसरी सगरमाथा उच्च छ, त्यस्तै गरी सगरमाथा भएको देशको नाम उच्च राख्न चाहन्छु ।

धेरैको प्रेरणाको स्रोत बनिसक्नुभयो, सफलता पाउन के गर्नुपर्दो रहेछ ?

सबैले भविष्यमा के बन्ने भनेर सोचका हुन्छन् तर सपना साकार पार्न सबै भाग्यमानी हुँदैनन् । तर म के भन्न चाहन्छु भने सपना देखेर मात्र पूरा हुँदैन । त्यसका लागि मिहिनेत गर्नुपर्छ । महत्वपूर्ण कुरा नै कडा मिहिनेत हो । मिहिनेतको फल मीठो हुन्छ । मैले पनि मिहिनेत गरेको र मेरो परिवारले पनि मलाई सहयोग गरेको भएर म यो ठाउँमा आइपुगेकी छु । इच्छाशक्ति, कामप्रतिको लगाव, परिवारको सहयोग भयो भने ‘प्यासन’लाई ‘करियर’ बनाउन त्यति गाह्रो हुँदैन ।

अन्तिममा केही भन्न चाहनुहुन्छ ?

सम्पूर्ण देश विदेशमा बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु । एक पटक मात्र होइन, उहाँहरुले मलाई पटक पटक भोट लिएर सहयोग गर्नुभएको छ जसका कारण म यो ठाउँमा आइपुगेकी छु । आफ्नो माया दिनुभयो, त्यसका लागि म आभारी छु । ममा जति क्षमता छ, त्यतिले मात्र म यहाँ आइपुग्दिनथेँ होला । मलाई लाग्छ, यो धन्यवाद शब्द उहाँहरुले दिनुभएको आशीर्वादको अगाडि फिक्का हुन्छ । यस्तै माया, सद्भाव पाइराखेँ भने मेरो सफलताको बाटो कसैले पनि छेक्न सक्दैन । फेसबुकमा आउने सबै कुरालाई विश्वास नगर्नुहोला किनभने फेक अकाउन्ट मेरो नाममा धेरै बनेका छन् । जे पायो त्यही पोस्ट गरिरहनुभएको छ । मेरो एउटै अफिसियल अकाउन्ट छ, जुन टेरिया फौजा मगर हो, त्यसमा ३ लाखभन्दा बढीले लाइक गर्नुभएको छ । त्यसमा राखिएको जानकारी मात्र विश्वास गरिदिनुहोला ।

रातोपार्टीबाट

Give Your Opinion On "टेरियाको गुनासो : मिडियाले मेरो नामै बिगारे"