क्यारेक्टरका हिसाबले कलाकारलाई च्यालेन्ज थियो -निर्देशक निश्चल

 बस्नेत यति बेला चर्चामा छन् । ‘लुट’बाट निर्देशन डेब्यु गरेका निश्चलको अहिले चर्चाको विषय पनि ‘लुट २’ भएको छ । पहिलो चलचित्रैबाट एकाएक सेलिब्रिटी डाइरेक्टर बनेका उनले चार वर्षको अन्तरालपछि सिक्वेल बनाएका हुन् । यासबीचमा उनले चलचित्र ‘टलकजङ्ग भर्सेस टुल्के’ दर्शकका लागि दिएका थिए । तर चलचित्रले उनको करियरमा इँटा थप्न भने सकेन ।

बीचको समयमा उनले अभिनयबाट भने राम्रो चर्चा कमाए । कबड्डी कबड्डीमा उनले गरेको अभिनयको धेरैले खुलेरै तारिफसमेत गरे । अहिले भर्खर मात्र पनि उनले ‘पर्व’को आइटम गीतमा नृत्य गरेका छन् । गीतले सफलताको बाटो पहिल्याइसकेको छ । अभिनयमा अर्काे पहिचान बनिरहेको समय उनले फेरि मौलिक कथामा चलचित्र ‘लुट २’ ल्याएका छन् । यस चलचित्रको अहिले चौतर्फी चर्चा हुने गरेको छ । नेपाली चलचित्र भन्नेबित्तिकै नाक खुम्च्याउने दर्शक र चलाउन आनाकानी गर्न हलवालालाई लुट मार्फत दर्शक लुट्ने अवसर दिएका निश्चलसँग चर्चित चलचित्र ‘लुट–२’ का विषयमा गरिएको कुराकानीको केही अंश ।

‘लुट २’ कस्तो चलचित्र हो ?
– निर्माणका हिसाबले भन्ने हो भने केही विषयवस्तुमा गरिएर प्रयोग हो । हामी कर्मसियल रुपमा पनि चलचित्र हेर्ने गर्दछौँ । कमर्सियल स्केलको रुपमा हेर्ने हो भने यो एउटा राम्रो कमर्सियल चलचित्र पनि हो । कथाको हिसाबले भन्ने हो यो हाम्रो वरिपरि घुमेको, हामीले भोगेको समयका कथामा बनेको चलचित्र हो यो । यही समयमा जन्मिएका, समाजबाट विचलित भएका पात्रहरु नै चलचित्रमा देखाउन खोजेको छु । समग्रमा भन्ने हो भने ‘लुट २’ हामी बस्ने समाजभित्रका राम्रानराम्रा केही व्याक्तिहरुको कथा हो ।

‘लुट–२’ निर्माणको किन आवश्यक देखियो ?
आवश्यकभन्दा पनि यो इन्टेन्सनको विषय हो । इन्टेसन जतिबेला आउँछ । जति बेला कथाले एउटा रुप लिइसकेको हुन्छ । जबसम्म कथाले रुप लिँदैन । तबसम्म कथा नभन्दा पनि हुन्छ । भूकम्प, नाकाबन्दीपछिको राजनीतिक परिस्थितिले हामीलाई एकै सूत्रमा उन्ने काम गर्यो । यही समय भेटेको एउटा कथा हो ‘लुट २’ । यो कथा दर्शकलाई भन्नुपर्छ भन्ने मलाई लाग्यो । अनि जन्मियो चलचित्र ।

सिक्वेल बनाउन गाह्रो कि सजिलो ?
सबैभन्दा सजिलो सिक्वेल बनाउन हो । किनभने यसमा भएकै क्यारेक्टर प्ले गर्ने हो । नयाँ क्यारेक्टर निकाल्नुपरे पो गाह्रो हुन्थ्यो । गाह्रो त कलाकारको समय निकाल्न भयो मलाई । पहिलो फुर्सदिला कलाकार अहिलेका निकै व्यस्त कलाकार हुन् । समय मिलाउन गाह्रो पर्दा चाहिँ दिक्क लागेको थियो ।
‘लुट’ बनाउँदा यी कलाकार स्टार थिएनन् । अहिले स्टार भइसकेका छन् । भूमिका ब्यालेन्स गर्न कतिको गाह्रो भयो ?
मलाई केही गाह्रो भएन । भएको भए कलाकारलाई भयो होला । सिक्वेलमा जे च्यालेन्जिङ थियो । उनीहरुलाई नै थियो । किनभने पहिले जे गरिएको थियो न्यूनतम पनि त्यो गर्नुपथ्र्याे कि त्योभन्दा माथि गर्न सक्नुपथ्र्याे । क्यारेक्टरका हिसाबले कलाकारलाई च्यालेन्ज थियो । मलाई त केवल कथामा च्यालेन्ज मात्र हो । मेरो पत्रहरु कस्तो छन्, कसरी देखाउने भन्ने मात्र मेरो थियो । कलाकार स्टार हुनु नहुनु आफ्नो ठाउँमा छ । कलाकार सुटमा आउँदा स्टार भएर होइन, कलाकार भएर आए जुनै पनि निर्देशकलाई सजिलो हुन्छ ।

सिक्वेल आउन चार वर्ष किन लाग्यो ?
पहिलो कुरो कथा नपाएर हो । कथालाई कसरी अगाडि लैजाने भनेर जालो बुन्न चार वर्ष लागेको हो । यसका लागि १० वर्ष २० वर्ष जति पनि कुर्न सकिन्छ । सिक्वेल भनेर एकै वर्षमा गर्नुपर्छ भन्ने छैन । नाम मात्र दिएर सिक्वेल राख्ने हो भने गर्न पनि सकिन्छ । तर चलचित्रको सिक्वेल बनाउन समय लाग्छ । यो चलचित्रको पहिले कथा जहाँ सकिएको थियो । अहिलेको कथा त्यहीँबाट उठाइएको छ ।

अहिले सिक्वेलले व्यवसाय नगरेको अवस्था छ नि ?
‘लुट–२’को व्यवसायको हिसाबले मलाई केही टेन्सन छैन । मलाई लाग्छ निर्मातालाई पनि छैन । यो हाइबजेटमा बनेको चलचित्र हो । तर यो प्रदर्शन अगाडि नै सेफ भइसकेको छ । दर्शकले राम्रो नराम्रो के भन्ने हुन् भनेर मात्र डर छ हामीलाई । यस चलचित्रले जे व्यवसाय गर्छ, त्यो हाम्रो लागि इनअफ नै हुन्छ, चाहे एक रुपियाँ किन नगरोस् ।

दर्शकको निश्चलप्रति जति विश्वस छ, चलचित्र रिलिजपछि त्यो कायम रहला ?
हामी निर्माता निर्देशकले दर्शकको विश्वास जित्ने हेतुले चलचित्र बनाएका छौँ । दर्शकको विश्वास हामीले जित्न सक्छौँ, सक्दैनौँ । त्यो दर्शकले भन्ने हो । यो चलचित्र रिलिजपछि पनि मलाई दर्शकले यो कुरा भन्दिनु होला । दर्शक धेरै हुन्छन् । धेरैको धेरैथरी विचार हुन्छ । सबैसँग मिल्छ भन्ने छैन । मेरो विचारमा भन्ने हो भने यो चलचित्र हेर्ने दर्शक मध्य पचास प्रतिशत माथिले चलचित्र मन पराउँछन् । यो मलाई विश्वास छ ।
कलाकार प्रचारमा देखिएका छैनन् । यसले कतिको गाह्रो महशुस भएको छ ?
सबै कलाकार व्यस्त छन् । त्यसले चलचित्रको प्रचारमा असर गरेको छ नै । तर चलचित्र हेर्ने दर्शक चलचित्रप्रति आफै सजक भएकाले अन्यभन्दा केही राहत मिलेको छ । तर दर्शकलाई चलचित्रप्रति आकर्षक गराउन कलाकारले प्रचारमा साथ दिनैपर्छ । कलाकारलाई प्रचारमा आउनुपर्छ भनेर म भन्न सक्दिन । साथ भइदिए राम्रो हुन्थ्यो ।

ठमेल बजारको चर्चालाई के भन्नुहुन्छ ?
यो गीत चर्चाका लागि मात्र राखिएको होइन । यो चलचित्रभित्रकै कथामा आएको हो । चलचित्रका पत्रहरु मोजमस्ती गर्न रेस्टुरेन्टमा जाने क्रममा आएको गीत हो यो । यसले पनि चलचित्रका लागि राम्रो माइलेज दिइरहेको छ ।

पछिल्लो समय तपाईंमा अभिनयको कीरा पसेको हो ?
हो, यसले मलाई सताएको छ । मेरो सकेसम्म त निर्देशन नै गर्ने मनसाय हो । यो सँगसँगै अभिनय पनि मेरो रुचि रहँदै आएको छ । मेरो प्रोडक्सनमा पनि सधाउने इच्छा छ । राम्रो गर्न चाहने निर्देशकलाई लेखन र निर्देशनमा सघाउन पनि तयार छु । तर कसैले तिमीले अभिनय गरिदेऊ मेरो चलचित्रमा भनेर आउँछन् भने गर्दिनँ पनि भन्न सक्दिन । गति छाडेर के काम गरेछ भन्ने चाहिँ गर्दिन । अबका दिनमा चाहिँ फिल्टर भएर अगाडि बढ्ने सोचमा छु ।

अन्त्यमा दर्शकलाई केही भन्नु छ कि ?
दर्शकले चलचित्र कहिले आउँछ भनेर प्रतीक्षा गर्नु भएको छ । उहाँहरुले मेरो चलचित्र हेर्नुहुन्छ । म उहाँहरुलाई चलचित्र हेरेपछि के नराम्रो छ, के राम्रो लाग्यो, के कमिकमजोरी छ । त्यो सबै औँल्याइदिनुहुन अनुरोध गर्दछु । उहाँहरुले राम्रो भने पनि नराम्रो भने पनि मलाई राम्रो नै लाग्ने छ । किनभने सिक्ने प्रोसेस पनि यही हो ।

Give Your Opinion On "क्यारेक्टरका हिसाबले कलाकारलाई च्यालेन्ज थियो -निर्देशक निश्चल"