काठमाडौं । मध्यकाल तथा मल्लकालका मैथिली, नेवारी र भँगाली भाषामा लेखिएका सैयौं नाटकहरुका अभिलेख पाईए पनि तीनलाई अझै अनुसन्धान गर्न र प्रकाशनमा ल्याउन बाँकी रहेका अनुसन्धानकर्ताहरुले खुलासा गरेका छन् ।
५५ औं विश्व रँगमञ्च दिवसको अबसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सांस्कृतिक संस्थानको सहकार्यमा सोमबार नाचघरमा गरेको गरेको गोष्ठी तथा नेवारी नाच प्रस्तुति कार्यक्रममा अनुसन्धानकर्ता प्रा.डा. रामअबतार चौधरीले मध्यकालिन एवं मल्लकालिन नेवारी, मैथिली र बँगाली नाटकबारे कार्यपत्र प्रस्तुत गरे । उनले तीन ओटा प्रकृत भाषामा नाटक, तीन सयओटा भन्दा बढी मैथिली नाटक, चार ओटा नेवारी भाषाको नाटक र त्यत्तिकै मात्रामा बँगाली भाषाका नाटकको अभिलेख मध्य र मल्लकालमा लेखिएको अहिले पनि सुरक्षित रहेको बताए । उनले त्यो कालखण्डको मञ्च निर्माणबारे पनि चर्चा गरे ।
अग्रज संस्कृतिविद् सत्यमोहन जोशीले राणाकालपछि नेवारी भाषाको नाटक लोप भएको अबस्थामा आफुहरुले संरक्षण गरेको जानकारी गराए । उनले मल्लकालमा काठमाडौं, ललितपुर र भक्तपुरमा मञ्चन भएका केही नाटकको पनि चर्चा गरे ।
यस्तै अर्का नाट्यकर्मी प्रचण्ड मल्ललले मल्लकालको मञ्च र प्रस्तुतिको बारेमा चर्चा गर्दै त्यतिबेला त्रिकोण आकारको मञ्चमा नाटक देखाईने गरेको बताए । नाटक मञ्चन अघि मन्त्रबाट स्टेजलाई बाँध्ने, प्रकाशको रुपमा विभिन्न कोणमा मशाल बाल्ने जस्ता कार्य गरिने पनि उनले जानकारी गराए ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वाँङले काठमाडौं उपत्यकाका नेवारी नाचहरु शँकटमा रहेको अहिलेको आधुनिक प्रयोगले नेवारी नाटकहरु छायाँमा परेको बारे कार्यपत्र प्रस्तुत गरे । उनले मध्यकालदेखि चल्दै आएका नेवारी नाटक तथा नाचलाई अहिलेको प्रविधिसँग जोडेर त्यसको भाव र महत्व नविग्रने गरी आधुनिक उपकरणको प्रयोग गरेर मञ्चन तथा प्रदर्शन गरिनुपर्ने भनाई कार्यक्रममा राखे ।
प्रा. डा. सावित्री मल्लले काठमाडौंका नेवारमा बाजे र बुबा पुस्ताले अझै नेवारी बोले पनि नाति पुस्ताले बोल्न छाडेकाले नयाँ पुस्ताले नेवारी भाषा बुझ्न छाडेको र नेवारी भाषामा मञ्चिन नाटक सोही कारण उनीहरुले हेर्न छाडेको बताईन् ।
नेवारी रँगमञ्च र त्यसको चुनौती शिर्षकको कार्यपत्र प्रस्तुत गर्दै उनले नेवारी नाटक जोगाउन अब नेपाली भाषामा बोलेर भए पनि नेवारी नाटक मञ्चन गरिनु पर्छ भनिन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले विभिन्न संघ संस्थासँग सहकार्य गरेर राजधानी र मोफसलमा प्रतिष्ठानले नाच, नाट्य, संगीत सम्बन्धि कार्यक्रम गर्दै आएको बताए । यो वर्ष प्रतिष्ठानले सात प्रदेशकै नाटक, नाच, गीतसंगीत सम्बन्धि अनुसन्धान गरे हरेक प्रदेशको छुट्टै पुस्तक प्रकाश गर्न लागेको र प्रदेश–३ को नाटक अनुसन्धानको क्रममा यो कार्यक्रम गरिएको हो भने ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थान र प्रतिष्ठानको उदेश्य एउटै भएकाले नाट्य विकाश र विस्तारका लागि संयुक्त गोष्ठी आयोजना गरिएको बताए ।
सो प्रतिष्ठानका परिषद सदस्य एवं नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले विश्व रँगमञ्च दिवसमा अन्तराष्ट्रिय सन्देश पढेर सुनाउँदै मध्यकाल र मल्लकालमा लेखिएका एवं मञ्चन भएका नेवारी, मैथिली, बँगाली नाटकको खोज अनुसन्धानका लागि गोष्ठी र कार्यक्रम कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
कार्यक्रममा मध्यपुर ठिमीका कलाकारहरुले त्यहाँ चार सय वर्ष भन्दा अघि देखि प्रचलनमा रहेका इन्द्र अस्परा नृत्य र भष्मासुर नाच प्रस्तुत गरे । सो नाचले कार्यक्रमको रौनकता बढाएको थियो ।