नेपाली अभिनेत्रीहरूका प्रेमका किस्सा ः कोहीको विवाह, कोहीको विछोड

काठमाडौँ– नेपाली चलचित्र क्षेत्र बेलाबेला अभिनेत्रीका प्रेम सम्बन्धको गस्सिफले गर्माउने गरेको छ । अभिनेत्री प्रियङ्का कार्की र सृष्टी श्रेष्ठको प्रेमको चर्चा सेलाउन नपाउँदै अहिले फेरि अर्की अभिनेत्री आना शर्माको प्रेमको चर्चाले बजार तताएको छ । प्रदर्शनरत चलचित्र ‘ग्याङ्स्टार ब्लुज’की नायिका आनाको नाम अहिले युवा सोनाम छिरिङ शेर्पासँग जोडिएको छ । केही दिन अगाडि चलचित्र ‘ग्याङ्स्टार ब्लुज’को प्रिमियरमा पनि सोनाम आनासँगै उपस्थित थिए । हुन त प्रियङ्का, सृष्टी र आना मात्र होइन, चलचित्र क्षेत्रमा अरु केही अभिनेत्री पनि छन् । जसको प्रेम सम्बन्धको समाचारले चलचित्र बजार तातेको र तान्ने गरेको छ । अभिनेत्रीको प्रेम आजको चर्चाको विषय हो ।

 

आना र सोनम


अभिनेत्री आना शर्माको प्रेमको समाचार अहिले मिडियाको प्रथामिकतामा परेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय आनाले पोस्ट गर्ने तस्बिरले पनि उनको प्रेमको चर्चा हुन थालेको हो । अभिनेता अनमोल केसीसँग ‘जेरी’ चलचित्र अभिनय गरेकी उनको अनमोलसँग प्रेम रहेको केही पहिले हल्ला थियो । सो समय दुवैले प्रेम अस्विकार गरेका थिए । आनाको अहिले फेरि युवा सोनाम छिरिङ शेर्पासँग नाम जोडिएको छ । चलचित्र ‘जेरी’बन्ने समयदेखिका यी दुवैको प्रेम रहेको समेत केही मिडियाले समाचार बनाएका छन् । आनाले इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरले पनि सोनाम र उनीबीच गहिरो प्रेम रहेको वुझ्न गाह्रो पर्दैन । कतै अङ्कमाल गरेका त कतै गालामा चुम्बन गरेका सोनामसँगका तस्बिर आनाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । केही दिन अगाडि चलचित्र ‘ग्याङ्स्टार ब्लुज’को प्रिमियरमा पनि सोनाम आनासँगै उपस्थित थिए । हलमा एकसाथ बसेर चलचित्र हेरेका यी दुईले मिडियाको अगाडि भने अनुहार लुकाउने कोसिस गरे ।

प्रियङ्का र आयुष्मान


अभिनेत्री प्रियङ्का कार्की पनि अहिले आफूभन्दा कान्छा आयुष्मान देशराजसँगको प्रेममा छिन् । प्रियङ्काको र देशराजको प्रेम मिडियामा छाएपछि दुवैले स्वीकार गरिसकेका छन् । यी दुवै अहिले आफ्नो प्रेम कसरी बलियो बनाउने भन्ने चक्करमा छन् । आयुष्मान र प्रियङ्का विवाह गर्दैसम्मको समाचारले मिडिया रङ्गिइसकेको छ । तर अहिले विवाहको कुरा त्यसै सेलाएको छ । आयुष्मानकी आमा (बैङ्कर रविना देशराज श्रेष्ठ) को सम्बन्धले आयुष्मान र प्रियङ्काको दोस्ती बढेको थियो । पछि त्यही दोस्ती प्रेममा परिणत भयो । करिब एक वर्षदेखि उनीहरु प्रेममा छन् । प्रियङ्का र आयुष्मान अहिले रमाइलो प्रेम डेटमा छन् । प्रियङ्का अहिले जहाँ सुटिङमा जान्छिन् । आयुष्मान पनि प्रायः भेटिने गरेका छन् । ‘चपली हाइट–२’ बाट अभिनयमा डेब्यु गरेका देशराजले चलचित्र ‘कथा काठमाडौँ’ मा पनि अभिनय गरेका छन् ।

सृष्टी र सौगात


पूर्व मिस नेपालसमेत रहेकी अभिनेत्री सृष्टी श्रेष्ठ पनि अहिले अभिनेता सौगात मल्लसँगको प्रेममा छिन् । यी दुवैले लुकाउँदै आएको प्रेम अहिले छताछुल्ल भइसकेकोछ । एक चलचित्रको सुटिङमा सृृष्टी सौगातलाई भेट्न पोखरा सुटिङ सेटमै पुगेपछि दुवैको प्रेमले चर्चा पाएको थियो । त्यसपछि काठमाडौँका धेरै ठाउँमा उनीहरु डेट गर्दैगर्दामा भेटिए । चलचित्र हेर्न समेत दुवै सँगै चलचित्र घर पुग्थे । सृष्टीले सौगातसँगको प्रेम स्वीकार गरे पनि सौगात भने अझै खुल्न सकेका छैनन् । ‘गाजलु’बाट चलचित्र अभिनयमा डेब्यु गरेकी सृष्टीले अहिले सौगातसँग चलचित्र ‘लाउरे’ अभिनय गरिरहेकी छन् । सृष्टीले सौगातसँगको प्रेमको कुरामा मिडियासँग उनी आफ्नो नजिकको मान्छे हो भनेर भन्ने गरेकी छन् । केही पहिले चलचित्र ‘लाउरे’को निर्देशक र निर्माताबीचको विवाद कान्डमा सृष्टीले आफ्नो हात काटेर सुसाइट गर्नेसमेत कोसिस गरेकी थिइन् । उक्त घटनापछि अस्पताल भर्ना भएकी सृष्टी र सौगात सँगै भेटिएका थिए ।

नम्रता र दावा


नेपाली चलचित्र क्षेत्रको ‘प्रेम बजार’मा अभिनेत्री नम्रता श्रेष्ठ पनि अछुतो रहिनन् । प्रेम घलेसँग छुट्टिएर एक्लो जीवन बिताइरहेका बेला उनको मनमा नयाँ प्रेमीले दावा स्टिभन शेर्पाले बास जमाए । शेर्पा बेल्जियमकी नागरिक रहेकी आमाबाट जन्मिएका दावा पेसाले पर्यटन व्यवसायी हुन् । रङ्गपत्रकार सुब्रत आचार्यले बनाएको चलचित्र ‘अधकट्टी’ प्रिमियरमा नम्रता र दावा पहिलोपटक सँगै देखिएका थिए । त्यसपछि नम्रता जुनजुन कार्यक्रममा सहभागी हुन्थिन्, दावा पनि देखिने गर्थे । नम्रताकै अभिनय रहेको चलचित्र ‘क्लासिक’को इन्डक्ल्याप पार्टीमा पनि दावा सँगै थिए । ट्रेलर लन्चमा समेत पुगेका दावासँग नम्रताले गत वर्षको होलीसमेत सँगै मनाएकी थिइन् । नम्रता दावालाई खुबै माया गर्छिन् । दावा पनि उत्तिकै माया गर्छन् । यद्यपि यी दुवैको योजना अहिले विवाह गर्ने भने नरहेको बुझिएको छ । नम्रताले प्रेम सम्बन्धलाई नकार्न नसके पनि विवाहको बारेमा भने मुख खोल्न चाहिनन् ।

शिल्पा र छविराज


अहिले अभिनेत्री शिल्पा पोखरेलको चर्चा निर्माता छविराज ओझासँग जोडेर गर्ने गरिएको छ । अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि अहिले निर्माता छविराज ओझा शिल्पासँगको प्रेम तथा नजिकतामा रहेका छन् । पटकपटक शिल्पा र ओझाको विवाह हल्ला पनि चल्ने गरेको छ । तर बिहे भने भएको छैन । यी दुवैको प्रेम र सम्बन्धको विषयमा मिडियाहरुमा जहिले पनि गस्सिफ बन्ने गरेको छ । छवि र शिल्पा दुवैले आफ्नो परिवारले आफूहरूको सम्बन्धलाई स्विकारेको बताउँछन् । छविले शिल्पालाई बिहे गरे भने उनको यो चौथो विवाह हुनेछ, भने शिल्पाको दोस्रो । शिल्पाले यस अगाडि विकास विसीसँग प्रेमविवाह गरेकी थिइन् । छविलाई शिल्पाले लगभग साढे दुई वर्षदेखि साथ दिइरहेकी छिन् । निर्माता छविराज ओझाको पहिलो पत्नीसँग डिभोर्स भएको थियो भने दोसीे पत्नी गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन् । त्यसपछि छविले रेखासँग विवाह गरेका थिए । १२ वर्षको यात्रापछि छविको जीवनबाट रेखा बाहिरिइन् । रेखा बाहिरिएपछि छविको जीवनमा शिल्पाको इन्ट्री भएको हो ।

वर्षा र संजोग


नायिका वर्षा राउत र संजोग कोइरालाको प्रेमले ६ वसन्त पार गरिसकेको छ । लामो समयदेखि प्रेमी–प्रेमिकाका रुपमा रहेका यी दुवैको प्रेमको चर्चा कम हुने गरेको छ । वर्षा अहिले धमाधम चलचित्रमा काम गरिरहेकी छन्, भने संजोगले ‘उत्सव’, ‘बाजिगर’ चलचित्र अभिनय गरेका थिए । बाजिगर संयोगका बुबाले बनाएको चलचित्र हो । यी दुवैको पहिलो पटक एक चलचित्र अडिसनमा भेट भएको थियो । छोटो भेटमा नै नजिकिएका यी दुवैको परिवार पनि प्रेमको बारेमा जानकार छन् । अहिले दुवैको करिअर सुरुवाती चरणमा रहेकाले विवाहको योजना तत्काल नरहेको दुवै बताउँछन् । राउत र कोइराला नेपाली चलचित्रका अभिनेता अभिनेत्री हुन् । तर यी दुवैले एकसाथ चलचित्रमा काम गर्ने अवसर पाएका छैनन् । केही विज्ञापनमा भने यी दुवैले एकसाथ अभिनय गरेका थिए । छिट्टै जोडी बन्ने र टुट्ने क्रम चलिरहने चलचित्र क्षेत्रमा यो जोडी भने उदाहरण बनेको छ । हाम्रो सम्बन्ध भने ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डभन्दा माथि असल साथीका रूपमा पनि रहेकाले प्रेम टुट्ने डर नभएको वर्षाले बताउँदै आएकी छन् ।

आस्मा र संयम


आस्मा र संयमको प्रेमले एक समय राम्रो बजार ततायो । केहीपछि ब्रेकअपको हल्ला पनि फैलियो । तर, यो जोडीले अहिलेसम्म ती कुराको विषयमा मुख खोलेका छैनन् । परिवारसँग नजिक रहेका व्यक्तिको कुरो पत्याउने हो भने अहिलेसम्म पनि उनीहरुको सम्बन्ध राम्रो छ । ‘सायद’ चलचित्र चलेपछि आस्मा संयमसँग नजिक भएकी थिइन् । एक टिभीमा काम गर्ने आस्माको रिपोर्टिङका क्रममा पहिलो पटक संयमसँग भेट भएको थियो । आस्मा पनि चलचित्र अभिनय छिन् । संयमको पनि अभिनय यात्रा चलिरहेको छ । यी दुवै पछिल्लो समय एकसाथ देखिएका भने छैनन् । केही पहिले बारम्बार चलचित्र हलमा भेटिने यो जोडीको मिडियामा टिप्पणी सुरु भएपछि एकसाथ देखिन छोडेका छन् । संयम निर्देशक नारायण पुरीका छोरा हुन् । संयमका सबै परिवार अमेरिकामा छन् । उनी अमेरिका नजानुको कारण आस्मा यही रहेकाले पनि हो ।

मलिना र अनुपविक्रम


पूर्वमिस नेपाल तथा नायिका मलिना जोशी र नायक अनुपविक्रम शाहीको प्रेम सम्बन्ध पनि चलचित्र बजारमा लुक्न सकेन । केही समयअघि यी दुईबीचको सम्बन्ध टुटेको हल्ला पनि फैलिएको थियो । उनीहरु अझै पनि एक अर्काेको नजिक रहेको बुझिएको छ । मिडियासामु सकेसम्म आफ्नो सम्बन्ध यी दुवैले लुकाउने गरेका छन् । दुवै चलचित्र क्षेत्रमा क्रियाशीलता देख्न सकिन्छ । भेटघाट पातलो भए पनि फोनवार्ता भने यी दुवैको बाक्लै हुने गरेको छ ।

पूजा र सुदर्शन


अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाबीचको प्रेम सम्बन्धले धेरै वर्ष पार गरिसकेको छ । उनीहरुको प्रेमको चर्चा एकताका मिडियामा खुबै हुने गथ्र्याे । प्रेमको हल्लालाई यी दुवैले मन्द रुपमा नकार्दै आए । पूजा र सुदर्शन सधँै एकै प्रोजेक्टमा देखिनुले पनि दुवैबीच कुछकुछ रहेको छ भन्ने अनुमान लगाउन मिडियालाई गाह्रो परेन । पछिल्लो समय यी दुवैले एकसाथ चलचित्र ‘म यस्तो गीत गाउँछु’ समेत निर्माण गरेका छन् । यो चलचित्रको प्रचारको समयमा भने पूजाले अभिनेता पल शाहसँग आफ्नो डेट रहेको बताएर मिडियाको ध्यान अन्तै खिचिन् । पलले पनि पूजाको कुरोमा केही बोलेनन् । पलले पूजा आफ्नो ‘गुड फ्रेन्ड’ भएको बताउँदै आएका छन् ।

निशा र शरद


एक समय निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेमको समचार सम्पूर्ण मिडियाको प्रथामिकतामा पर्यो । निशा र शरद पहिलो पटक एकसाथ कमलपोखरीस्थित बिग मुभिजमा चलचित्र ‘फिट्किरी’ हेर्ने क्रममा भिडियाको नजरमा परेका थिए । यो समय प्रेमको चर्चा चले पनि दुवैले अस्वीकार गरे । त्यसपछि चलचित्र चपली हाइटका निर्माता अर्जुन कुमारले आयोजना गरेको ‘क्रिकेटर सम्मान’ कार्यक्रममा निशा र शरद पुगेका थिए ।मिडियाको डरले दुवै एकअर्काे बोलचालसमेत गरेनन् । क्रिकेटर शक्ति गौचनका पिताको निधनमा अन्तिम श्रद्धाञ्जलि दिन आर्यघाट पुगेका निशा र शरदले घाटमै डेट गरेको तस्बिरले भने उनीहरुको प्रेम बाहिर छताछुल्ल भयो । त्यसपछि खुलेआम रुपमा कीर्तिपुर खेल मैदानमा आयोजना हुने क्रिकेट खेलमा शरदलाई हौसला दिन पुगेकी निशाको बदलामा चलचित्र ‘कुम्भकर्ण’को छायाङ्कन सेटमै भेट्न शरद पुगेपछि दुवैको प्रेमको चर्चाले सीमा नाध्यो । त्यसपछि दुवैले मिडियामा प्रेम स्वीकार गरे । अहिले यी दुवैको विवाह पनि भएको छ । निशा र शरदले केही पहिले होटल अन्नपूर्णमा विवाह कार्यक्रम आयोजना गर्दै लगानगाँठो कसेका हुन् ।

रातोपाटीबाट

Give Your Opinion On "नेपाली अभिनेत्रीहरूका प्रेमका किस्सा ः कोहीको विवाह, कोहीको विछोड"