३ सय ठाउँमा कैँचीपछि रिलिज हुँदै ‘पद्मावत’

मुम्बई । निर्देशक सञ्जय लिला भन्सालीको चलचित्र ‘पद्मावत’ २५ जनवरीमा रिलिज हुने भएको छ । तर, चलचित्र रिलज हुनअघि सेन्सरले चलचित्रमा थुप्रै ठाउँमा कैँची लगाउने भएको छ ।

भारतीय सञ्चार माध्यममा प्रकाशित एक रिपोर्टका अनुसार चलचित्रमा उल्लेख गरिएका दिल्ली, चितौड र मेवाड जस्ता नाम हटाइनेछ ।

रिपोर्टका अनुसार २५ जनवरीमा देखाइने फिल्म अब पूरै काल्पनिक कथा वस्तुमा आधारित भएको जस्तै गरी प्रस्तुत गरिन्छ ।

किनभने चलचित्रबाट नाम हटाएपछि यो घटना कहाँ घटेको हो भन्ने दर्शकहरुले थाहा पाउन सक्नेछैनन् ।

दर्शकलाई यो पनि थाहा हुने छैन कि अलाउद्दिन खिलजी कहाँबाट आए र कहाँ गएर राजपूतसँग उनीहरुको युद्ध भयो ।

चलचित्रको रि–इडिटिङ जारी

अहिले सेन्सर बोर्डले दिएको सुझाव अनुसार चलचित्रको रि–इडिटिङ भइरहेको छ । रिपोर्टका अनुसार चलचित्रमा भनिएका ठाउँको नामलाई काल्पनिक नाम दिइनेछ ।

अझै चलचित्र रिलिज गर्न विरोध

सेन्सरबोर्डले चलचित्रको नाम बदल्न सल्लाह दिँदै चलचित्रलाई युए सर्टिफिकेट दिएपछि राजपूत समूदाय विशेष गरेर करणी सेनाले अझै पनि चलचित्रको विरोध गर्दै आइरहेको छ । सेनाले चलचित्र रिलिज गरिए फिल्म हल तोडफोड गर्ने धम्की दिएको छ ।

यता, राजस्थान सरकार पनि राजपूत समुदायको साथ उभिएको छ । राजस्थानका मुख्यमन्त्री वसुन्धरा राजेले प्रदेशमा चलचित्र प्रतिबन्धित रहेको बताइन् । यता मध्य प्रदेशमा भने भाजपा यस विषयमा नम्र रहने देखिएको छ ।

Give Your Opinion On "३ सय ठाउँमा कैँचीपछि रिलिज हुँदै ‘पद्मावत’"