मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ । मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ । खड्गी पक्राउ परेको व्यूरोका निर्देशक डिआइजी पुष्करले कार्कीले रातोपाटीलाई जानकारी दिए । उनलाई ठमेलबाट पक्राउ गरिएको कार्कीको भनाई छ ।

केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।

कार्कीले भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले अनुसन्धान शुरु गरेका छौँ ।’

खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११  जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।

यसअघि कलाकार राजेन्द्र खड्गीले रातोपाटीसँग कुरा गर्दै कोरियामा छाडेको भनिएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामालाई आफूले नचिनेको दाबी गरेका थिए ।

को हुन् राजेन्द्र खड्गी

राजेन्द्र खड्गी चर्चित तथा धेरै नेपाली चलचित्रका द्वन्द्व निर्देशक हुन् । करिव ५ सय नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका उनले ५–६ वटा हिन्दी चलचित्रमा समेत काम गरेका छन् । करिब एकसय हाराहारीका नेपाली चलचित्रमा खलनायक भुमिका निर्बाह गरेका खड्गीको जन्म २०१८ सालमा मकवानपुरको हेटौँडामा भएको हो । २०३४ सालमा एसएलसी पास गरेका उनी हेटौँडा क्याम्पसका कर्मस बिद्यार्थी हुन् ।

२०३५–३६ सालमा उनी हेटौंडाको नामुद ‘गुण्डा’ थिए । त्यतिबेला उनी बाबुराजा दादाको नामले समेत चिनिन्थे । उनको परिवारको पेसाले मासु व्यापार हो । चलचित्रमा आउनु पुर्व उनले यो काम पनि गरेका थिए ।

उनी २०४० सालतिर हेटौंडामा क्युकोसिन कराँते पनि सिकाउँथे । सहबीर थापा डिएसपी हँुदा उनी एक हप्ता थुनामा समेत परेका थिए । त्यतिबेला कमल थापाको निर्देशनमा उनी छुटेका थिए । चलचित्रमा प्रबेश गरेपछि उनले गुण्डागर्दी छाडेका हुन् ।

१९ र २० तोला जति सुन र गोजीमा १०–१५ हजार लिएर हिँड्न रुचाउने उनलाई राजा वीरेन्द्रले एक गाडी उपहार समेत थिएका थिए । बा ३ च ४ ५७७३ नम्बरको उक्त गाडी पहिले पूर्व युवराज दिपेन्द्रले चढ्थे । केही चलचित्र निर्माण समेत गरेका खड्गीले ‘कालो चश्मा’ नामक चलचित्र निर्देशन समेत गरेका छन् । सबैभन्दा धेरै चलचित्रमा द्वन्द्व निर्देशन गर्ने संसारमै आफु पहिलो ब्यक्ति भएको दाबी गर्दै आएका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन पनि चाहन्छन् । तर उनको यो इच्छा पुरा भएको छैन । उनी अहिले अभिनेता शिव श्रेष्ठसँग मिलेर एक चलचित्र निर्माणको तयारी गर्दैछन् ।

Give Your Opinion On "मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ"