‘जाइरा’मा नम्रताको मार्शल आर्ट लुक्स

‘जाइरा’मा नम्रताको मार्शल आर्ट लुक्स, पत्रकार सम्मेलनमा आइन यसरी
काठमाण्डौ। प्रायः लभस्टोरी जनराका फिल्ममा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ चलचित्र ‘जाइरा’मा भने विल्कुलै फरक अवतारमा देख्न पाइने भएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको यो चलचित्रमा उनी एक मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदैछिन् ।
मंगलवार राजधानीमा एक कार्यक्रमका बीच यस चलचित्रका कलाकारको लुक्स भिन्न शैलीमा सार्वजनिक गरियो । पोष्टरमार्फत कलाकारको लुक्स सार्वजनिक गर्ने परम्परा विपरित ‘जाइरा’का कलाकार चलचित्रकै लुक्समा उपस्थित भएका थिए ।
यस चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याएकी अभिनेत्री नम्रता श्रेष्ठलाई खेलाडी लुक्समा सजिलै चिन्न गाह्रो पर्थ्यो । डेब्यू गर्ल सृजना रेग्मी पनि खेलाडी लुक्समा उपस्थित भएकी थिइन् । चलचित्रमा सम्राट मगर नम्रताको कोचको भूमिकामा छन् ।
अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेको यस चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । निर्देशक आशुतोष राज श्रेष्ठले ‘जाइरा’ आगामी मंसिर १४ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी दिए ।
उनले चलचित्र एक्सन जनरामा निर्माण भएको बताए । यस चलचित्रका लागि अभिनेत्री श्रेष्ठले आफ्नो ५१ किलो तौलबाट घटाएर ४३ केजी तौल बनाएकी छिन् भने आफ्नो लोभलाग्दो कपाल पनि छोट्याएकी छिन् । कार्यक्रममा नम्रताले भनिन्, ‘सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ, कपाल काटे, ६ महिना एक्सन सिकेँ । अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने काम दर्शकको हो’ ।
उनि पहिलो पटक फरक भूमिकामा देखिन लागेकोमा आनन्द महशुस गरेको बताइन् । ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित यसको कथा निर्देशक श्रेष्ठ आँफैले लेखेका हुन् । लोकेश बज्राचार्यले यसको सम्पादन गरेका छन् । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’को स्क्रिप्ट निर्देशक श्रेष्ठ र निरोज महर्जनले तयार पारेका हुन् ।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डिओपी बाबु श्रेष्ठको रहेको छ ।

Give Your Opinion On "‘जाइरा’मा नम्रताको मार्शल आर्ट लुक्स"