मैले चाहेर पनि अहिले १० करोडको चलचित्र बनाउन सक्दिनँ– निर्देशक एभरेस्ट सूर्य

एभरेस्ट सूर्य बोहोराचलचित्र क्षेत्रका लागि नौलो नाम होइन । करिब आधा दर्जन हाराहारी चलचित्र निर्देशन गरेका बोहोरा थोरै तर राम्रो चलचित्र बनाउने निर्देशकका रूपमा चिनिँदै आएका छन् । करिब तीन दशक अगाडि ‘अग्नि परीक्षा’बाट निर्देशनमा होमिएका बोहोराले यसअगाडि ‘मुटु’, ‘ठूली’ जस्ता सफल चलचित्र दिएका थिए । यिनै बोहोरा निर्देशित नयाँ चलचित्र ‘भैरे’ अहिले प्रदर्शनको तयारीमा रहेको छ । ‘भैरे’ ४ साउनबाट प्रदर्शनमा आउने चलचित्र हो । यो चलचित्रमा उनले अहिले दयाहाङ राई, वर्षा सिवाकोटीलगायत अहिले चलेका कलाकार लिएर बनाएका छन् । सायद त्यसैले पनि होला उनी चलचित्र प्रचार र हल्ला गरेरभन्दा सिस्टमेटिक तवरले गरिरहेका छन् । काम राम्रो गरेपछि दर्शकलाई मनपर्ने र दर्शकले रुचाए माउथ पब्लिसिटी त्यसै हुने धारणा राख्ने निर्देशक बोहोरासँग ।
उनको नयाँ चलचित्र ‘भैरे’ र चलचित्र क्षेत्रसँग सम्बन्धित विषय गरिएको कुराकानी ।

‘‘भैरे’को रिलिज मिति नजिकिँदै गर्दा तयारी त राम्रो होला नि ?

– मैले मात्र होइन, पूरै टिमले मिहिनेत गरेर पसिना बगाएर तयार पारिएको चलचित्र हो ‘भैरे’ । रिलिज मिति नजिकिँदै गर्दा हामी उत्साहित छौँ । ४ साउनबाट प्रदर्शनमा आउने चलचित्रका लागि आवश्यक तयारी पनि पूरा भइसकेको छ । बढीभन्दा बढी दर्शकमा ‘भैरे’कसरी पुर्याउन सकिन्छ । राम्रो चलचित्र आउँदै छ भनेर कसरी बझाउन सकिन्छ भन्नेतिर अहिले हामी लागिपरेका छाँै । यो समय प्रचार प्रसारको हो । उचित प्रचार प्रसार हामीले गरिरहेका छौँ ।
के हो ‘भैरे’ ?
–‘भैरे’ आम नेपालीसँग मिल्ने एक सामान्य मानिसको कथा हो । नेपाली युवाले लगानशील भएर हिम्मत देखायो भने उसले कसरी आफ्नो समाज र देशलाई विकासको बाटोतिर डोर्याउन सक्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ । सन्देशको साथसाथै चलचित्र धेरै मनोरञ्जनात्मक पनि बनेको छ । यसका गीतसङ्गीत त दर्शकले रुचाइसकेका छन् । ट्रेलरको पनि अहिले चर्चा छ । प्रचारको सामग्रीबाट पनि चलचित्रको बारेमा धेरै अनुमान लगाउन सकिन्छ । धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउने पहिलेदेखिकै मेरो एउटा पोलिसी छ । ‘भैरे’के हो भनेर पूरै जान्नका लागि भने चलचित्र हेर्नुको विकल्प छैन ।

‘ठूली’को तीन वर्षपछि ‘भैरे’ आउँदैछ । पहिले र अहिलेमा के भिन्नता देख्नुभयो ?
– समय परिवर्तनशील छ । समयको दौडसँगै हामी पनि प्राविधिक रूपमा अगाडि बढिरहेका छौँ । दिन प्रतिदिन प्रविधिका हिसाबले हामी सबल बन्दै छौँ । अहिले नयाँ नयाँ उपकरण भित्रिएका छन् । कलाकार पनि राम्रा राम्रा देखापरिरहेका छन् । नेपाली चलचित्र क्षेत्रले प्रविधि र कलाकारको रूपमा नसोचेको फड्को मारेको छ । सबैभन्दा खुसीका कुरो, नेपाली दर्शकले विदेशीभन्दा नेपाली चलचित्र रुचाउन थालेका छन् । राम्रो चलचित्र बन्यो भने दर्शकको साथ रहन्छ । नराम्रो चलचित्रलाई दर्शकले रिजेक्ट गर्छन् भन्ने अहिले सजिलै बुझ्न सकिन्छ ।
दर्शक निरास हुन्छन् कि ?
– मेरा जति चलचित्र आए ती सबैबाट दर्शकले मनोरञ्जन र सन्देश एकसाथ पाएका छन् । चाहे त्यो मेरो पहिलो चलचित्र  ‘अग्नि परीक्षा’ होस् वा ३ वर्षअघिको ‘ठूली’ । मैले सधैँ चलचित्रका लागि यथर्थावादी कथा रोज्ने गरेको छु । म त्यस्तो कथामा चलचित्र बनाउँछु । जुन कथाको समाजसँग प्रत्यक्ष सरोकार रहेको हुन्छ । कथाले यथार्थ छोओस् । त्यसमा प्रशस्तै मनोरञ्जन होस् । दर्शकले चलचित्र हेरेर मनोरन्जन फिल गर्दै जीवनका दुःख, पीडा केही क्षण भए पनि भुल्ने बाटो बनोस् भन्ने मेरो चलचित्र निर्माणमा विशेष ध्यान रहने गरेको छ । मेरो नाम जोडिएको चलचित्रबाट दर्शक निरास हुनुपर्दैन ।

हरेक चलचित्रको प्रदर्शनसँगै तपाईं विदेशमा हराउनु हुन्छ कि ?
– मुख्य कुरो म विदेशमा बस्ने नेपाली होइन । धेरै पहिले अध्ययनको सिलसिलामा अमेरिका गएको थिएँ । १२ वर्षको अध्ययन सिध्याएर फर्किएको व्यक्ति हुँ । मैले आर्ट र फिल्म मेकिङमा अध्ययन पूरा गरेको छु । हुन त धेरै साथीभाइले पनि मलाई यही प्रश्न दोहोर्याउँछन् । दर्शक र मिडियाको साथ रह्यो भने यस अगाडि जे भयो भयो । अबदेखि हरेक वर्ष एक वा दुई चलचित्र दिन्छु ।


अहिले चलचित्रमा धारको कुरो उठिरहेको छ । ‘भैरे’ कुन धारमा छ ?
– पुरानो धारमा चलचित्र बनाउने मेकर म होइन । समयअनुसार चलचित्र निर्माण गर्ने गरेको छु । ‘भैरे’ पनि अहिलेको समय सापेक्ष कथामा बनेको छ । पुरानै धारमा चलचित्र बनाउने भए अमेरिकामा गएर अध्यायन गर्नु किन पथ्यो र ? जुनै माध्यमबाट पनि अमेरिका पुगेका हाम्रा सहकर्मीहरू त्यतै रमाइरहेका छन् । केही सहकर्मी मैले पहिले जहाँ छोडेको त्यहीँ छन् ।  विदेशबाट सिकेर पनि देशका लागि राम्रो चलचित्र बनाउनु पर्छ भन्ने मेरो सोच हो । मेरो चलचित्र विदेशका नक्कल गरिएका, पुराना धारका हुँदैनन् ।
चलेका कलाकार लिएर चलचित्र बनाउन कति सजिलो रहेछ ?
–अहिले मात्र होइन, पहिलो चलचित्र ‘अग्नि परीक्षा’ निर्देशन गर्दा म जम्मा २२ वर्षको थिए । केही भिडियो चलचित्र, टेलिचलचित्र र स्टेज नाटकको अनुभव मसँग थियो । सो समय मेरो उमेरको केटाले ठूलो पर्दाको चलचित्र बनाउनु भनेको असम्भव कुरो थियो । किनभने त्यतिबेला प्रकाश थापा, चेतन कार्की, यादव खरेल लगायतका व्यक्तिहरूले चलचित्र बनाउँथे । त्यति बेला पनि मैले चलेका नायक राजेश हमाल रोजे । पढेलेखेको कलाकार भएकाले होला सायद, उहाँले मलाई पत्याउनुभयो । मेरो डेब्यु निर्देशनमा ‘अग्नि परीक्षा’ बन्यो । यो चलचित्रले त्यति बेलाको राम्रो व्यवसाय गरेको थियो । त्यसपछि जति पनि चलचित्र बनाए । सबैमा चलेको कलाकार लिएको छु । मेरा हरेक चलचित्रमा सो समयका चलेका कलाकार रहने गरेका छन् । अहिले ‘भैरे’ पनि त्यही हो । भैरेमा अहिले चलेका धेरै कलाकार समेटेको छु । चलेको कलाकार एकै प्रोजेटमा जोडिनु भनेको निर्माता निर्देशकका लागि चुनौती हो । चुनौती उठाएर पाएको सफलता जस्तो मज्जा अन्यमा छैन ।
वर्तमान समयमा चलचित्र बनाउनु फलामको चिउरा चपाउनु सरह भनेको पनि सुनिन्छ त ?
– यो कुरा १०० प्रतिशत सही हो । चलचित्र निर्माण भनेको एउटा प्यासन हो । मेरो दिमागमा जब एक प्रकारले कथाको बिजुली चम्कन्छ । यो कथामा चलचित्र बन्नुपर्छ भन्ने लाग्छ । दिमागमा त्यो कथाले जरो गाड्छ । त्यसपछि म चलचित्र बनाउँछु, बनाउँछु । ‘भैरे’ पनि त्यस्तै हो । भैरेको कथाको जब मेरो दिमागमा आयो, धेरै कठिनाइको सामना गर्दै अहिले प्रदर्शनको तयारी अवस्थासम्म आइपुगेँ । अहिले चलचित्र राम्रो बनाएर मात्र हुँदैन । यसका बारेमा दर्शकलाई जानकारी दिने प्रचार प्रसारमा पनि चुनौतीपूर्ण नै छन् । चलचित्र बनाउनु भनेको जोक होइन । धेरै दुःख छ । तर प्रदर्शनपछि आउने दर्शकको सकारात्मक प्रतिक्रियाले सबै दुःखमा मलम लगाउँछ ।

गीत, फाइट, प्रेमकथालगायतका फर्मुला कति आवश्यक छ ?
– चलचित्र बनाउँदा फर्मुलामा जोड दिन्नँ । चलचित्रमा उचित मात्रामा मरमसला चाहिन्छ भन्ने पक्षमा भने उभिएको हुन्छु । तरकारी मसलाबेगर पकाउँदा स्वस्थ्यका लागि उचित त हो तर यस्तो तरकारी कसैले मन पराउँदैन । सबैको रोजाइमा पार्न ठीक मात्रको मसला प्रयोग गर्नुपर्छ । मसलाले मिठास दिन्छ । त्यस्तै चलचित्रमा पनि गीत सङ्गीत, फाइट, प्रेमकथा लगायतको मसला चाहिन्छ । मैले चलचित्रमा प्रयोग गरेको यी मसला दर्शकले रुचाउनुभएको छ । तर यी फर्मुला प्रयोग गर्ने तरिका आआफ्नै छन् ।

अहिलेको समयमा चलचित्रको लगानी सुरक्षित हुन्छ त ?
– जोखिम त छ । राम्रो बनायो, दर्शकको रुचिमा ध्यान दियो र फरक किसिमको बनाउन सक्यो भने लगानी सुरक्षित गर्न कुनै कठिनाइ छैन । तर पेसाप्रतिको इमानदारिता बिर्सिएर मोजमस्ती गर्न, रमाइलो गर्नतिर लाग्यो भने चलचित्रको लगानी स्वाहा हुन्छ । अर्काे कुरो चलचित्र प्रदर्शनबाट जति उठाउन सकिन्छ । त्यति नै लगानी गर्नुपर्छ । घाँटी हेरेर हाड निल्दा बेफाइदा हुँदैन । दुई करोडको लगानी उठ्ने माहोल अहिले चलचित्र क्षेत्रमा छैन । १० करोड लगाएर के गर्नु । मैले चाहेर पनि अहिले १० करोडको चलचित्र बनाउन सक्दिनँ ।

चलचित्र बनाउन कि चलाउन गाह्रो ?
– बनाउन त गाह्रो छ नै चलाउन झनै गाह्रो छ । चलचित्र प्रदर्शनमा सिन्डिकेट छ भन्दा फरक नपर्ला । तर राम्रो चलचित्र बनायो भने चलाउन पनि सजिलो हुन्छ भनेर केही चलचित्रले देखाएका छन् ।
एकअर्कासँग भिड्ने गरेका छन् नि ?
– अहिलेको बजार भनेको प्रतिस्पर्धाको बजार हो । बजारमा जसले राम्रो सामान दिन सक्यो, त्यसको बिक्छ । त्यसैले एकअर्कासँग भिड्दा केही कठिनाइ छैन । अर्काे कुरो अहिले चलचित्र नै धेरै बनेका छन् । सबैलाई प्रदर्शनको हतारो रहन्छ । यस अर्थमा पनि चलचित्र एकअर्कासँग भिड्नु स्वभाविक हो ।
तपाईं विदेशमा पनि धेरै बसेको व्यक्ति, विदेशमा नेपाली चलचित्रको बजार विस्तार कसरी गर्न सकिन्छ ?
–विदेशमा चलचित्र लैजाने हो भने सबैभन्दा पहिले आफ्नोपन, कलासंस्कृतिलगायत कुरामा ध्यान दिनुपर्छ । कपी गरिएको, चोरिएको चलचित्र त विदेशमा बस्नेले ओरिजनल भर्सन नै हेर्न पाउँछन् । कपी किन हेर्नु पर्यो र ? नेपाली समाजको कथा, नेपाली कलासंस्कृति, भेषभूषा चलचित्रमा समट्न सक्यो भने नेपाली चलचित्रको विदेशी बजार विस्तार हुन्छ ।
आगामी प्रोजेक्ट ?
– प्रेमकथा, एक्सन, सामाजिक विषय, कमेडी लगायत कुनै पनि विषयमा हुन सक्छ । म भर्सनटाइल चलचित्र मेकरका रूपमा चिनिन चाहन्छु । त्यसैले अर्काे प्रोजेट कस्तो हुन्छ भनेर भन्न सक्दिनँ । एक दाइले मलाई भन्नुभएको थियो ‘सूर्य कथा हाम्रो समाजभित्र छन् । कुनै चन्द्रमामा गएर खोज्नु पर्दैन ।’ हो, हाम्रो समाजमा रहेको मेरो मनछुने, कुनै एक कथामा अर्काे चलचित्र बन्छ । सत्य कुरो के हो भने म फरक फरक जनराको चलचित्र बनाउन रुचाउँछु

Give Your Opinion On "मैले चाहेर पनि अहिले १० करोडको चलचित्र बनाउन सक्दिनँ– निर्देशक एभरेस्ट सूर्य"