किशोरीले नाचेर विश्व रेकर्ड तोडिन्

????????????????????????????????????

काठमाडौं । मानिसका पनि हरेक रुचि र सोच हुन्छ । यस्तै, बन्दना नेपालले नाचेरै वल्र्ड रेकर्ड राख्न सफल भएकी छन् । १७ वर्षीया बन्दनाले लगातार १२३ घन्टाभन्दा बढी शास्त्रीय नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउन सफल भएकी हुन् ।
बन्दनाले गएको शुक्रबार बिहान ७ बजेदेखि निरन्तर नाचिरहेकी थिइन् । उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको विश्व रेकर्ड तोड्दै ‘गिजिन बुक अफ वल्र्ड’ रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएकी हुन्  ।
काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउन सफल भएपनि उनी आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।
गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको थियो । सन् २०१६ मा भारतको केरलाकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी थिइन् । कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।
नृत्यस्थलमा ६० वटा नेपाली लोकलयका गीत निरन्तर बजिरहेको छ । ती गीतमा उनले विभिन्न नृत्य गर्दै आएकी छन् । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका छन् । कार्यक्रमस्थलमा निर्णायक पनि छन् ।
उनी नाच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी छन् । तर, लगातार नाच्दै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको छ । महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना अहिले काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् । बुबा राम नेपालका अनुसार उनी बाल्यकालदेखि नै नृत्य भन्ने बितिक्कै हुरुक्क हुन्थिन् ।
गत वर्ष भारतको केरलामा नृत्य सिक्न जाँदा उनले निरन्तर नाचेर भारतकी कलामण्डलमले वल्र्ड रेकर्ड बनाएको बारे बुझ्ने अवसर पाएकी थिइन् । नेपाल आएपछि नाचेरै विश्व रेकर्ड बनाउने लक्ष्य राखेर उनी अघि बढ्दै आएकी थिइन् । बन्दनाले सय घण्टा निरन्तर नाचेर यो अभ्यास पूरा गरेपछि विश्व रेकर्डको अभियानमा उत्रिएकी हुन् ।’

Give Your Opinion On "किशोरीले नाचेर विश्व रेकर्ड तोडिन्"